महेन्द्र राजमार्गमा बाघको बिगबिगी, सर्तक रहन आग्रह !

 कोरखबर   २० असोज, २०७८



असोज २०, रुपन्देही । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको रिहार क्षेत्र र बाँकेको गाभर र कुसुम लगायतका स्थानहरुमा पछिल्लो समय बाघको बथानै देखिन थालेपछि राजमार्ग भएर सवार गर्ने साना सवारीदेखि स्थानीयहरु त्रसित बन्न थालेका छन् ।

आइतबार बिहान रिहारदेखि अमेलियाको बीच भागमा पर्ने राजमार्ग हाइवे सडकमा ठूलो संख्यामा बाघको समूह देखिएपछि इलाका वन कार्यालय लमही देउखुरीले एक सूचना जारी गर्दै सो सडकमा पैदलदेखि साना सवारी संचालन नगर्न आग्रह गरेको डिभिजन वन कार्यालय लमहीका प्रमुख बेसिन्द्रराज सुवेदीले जनाए ।

प्रमुख सुवेदीले भने, ‘बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडक खण्डमा चितुवा र बाघको समूह देखा परेको हो । केही दिनदेखि लमही नगरपालिका ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेपछि आम नागरिकलाई उक्त जोखिमबारे जानकारी गराउने उद्देश्यले हामीले सुचना जारी गरका हौँ ।’

कार्यालयले दिएको सूचनामा दाङको रिहार क्षेत्रबाट बाँकेको शिवखोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुल्ला सवारी साधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउनसमेत सचेत गरेको थियो ।

यस्तै, बाँकेको राप्ती सोनारी गाउँपालिका १ गांभरमा पनि घरको छेउछाउमै आएर पाटे बाघ कराउन थालेपछि त्यहाँका स्थानीयहरु रातभर नसुत्ने गरेको बताइएको छ  । गाभरस्थित विद्यालय नजिकै आएर बाघ कराउने गरेको स्थानीयले बताएका छन् ।

गत शनिबार सो गाउँका स्थानीय वनमा भैंसी र बाख्रा चराउन गएका बेला स्थानीय हिरा खड्का, कालिका खड्का र सेतु वलीलाई ४ वटा पाटे बाघले घेरा हालेको अवस्थामा सकुशल उद्दार गरिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post