२० असोज, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै छ । सरकाले प्रतिस्थापन विधेयकमार्फत् बजेट ल्याउने भएको हो ।
दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेस गर्ने मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताए । कुलप्रसाद केसी नेतृत्वको गठबन्धन सरकारले थपघट गरेर बजेटसहितको नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
केसीले साउन २८ मै नयाँ बजेट आउने बताएका थिए । तर, प्रमुख विपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण बजेट आएको छैन ।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको बजेट ल्याएको थियो । उनले अध्यादेशमार्फत् नै बजेट ल्याएका थिए ।
सरकारले लुम्बिनी प्रदेश बैंक स्थापनासँगै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न बहु-साँस्कृतिक डबली निर्माणको कार्यक्रमलाई बजेटमा समावेश गर्ने भएको छ ।