माघ १८, हेटौंडा । वाग्मती प्रदेश सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वाग्मती प्रदेश सरकारको सोमबार बसेको बैठकले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ समुदायले ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आएका थिए ।
यसैगरी ल्होसारकै अवसरमा मकवानपुरका तीनवटा गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मकवानपुरको वाग्मती, बकैया र राक्सिराङ गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका हुन् । वाग्मती प्रदेशमा तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होसार पर्व विशेष महत्त्वका साथ मनाउने गर्दछन् ।
यसैगरी वाग्मती प्रदेश सरकारले चेपाङ सुमदायका महत्त्वपूर्ण पर्व छोनाम (न्वागी) का दिन मकवानपुर, चितवन र धादिङमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा काननुमन्त्री कृष्ण खनाल शर्माले जानकारी दिएका छन् ।
हरेक वर्षको भदौ २२ गते चेपाङ समुदायको न्वागी पर्व पर्छ । उक्त दिन सार्वजनिक बिदा गर्न प्रदेश सरकारसँग चेपाङ समुदायले माग गर्दै आएका थिए । वाग्मती प्रदेशका १३ जिल्लामध्ये तीन जिल्ला मकवानपुर, धादिङ र चितवनमा चेपाङ समुदाय बसोबास बाक्लो रहेको छ ।