बागमती प्रदेशसभा बैठक आज !

 कोरखबर   ७ पौष, २०७८



पुस ७,हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

लगातारको सरकार परिवर्तनका कारण गत कात्तिक २२ गते प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको विश्वासको मतका लागि बैठक बसेको थियो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि भने प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

बागमती प्रदेशसभाको बैठकअघि कार्य परामर्श समितिको बैठक बस्दैछ । संसद् संचालनको लागि आवश्यक छलफल तथा सदनका कार्यसूची तयार पार्न सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक ११ः३० बजे बस्दैछ ।

प्रदेशसभा सचिवालयमा हाल २ वटा विद्येयक छलफल पछि समितिबाट पास भएर अन्तिम रुप दिन मात्र बाँकी छ । प्रदेश पर्यटन सम्बन्धी विद्येयक र प्रदेश उच्च शिक्षा विद्येयक समितिबाट पास भएर अन्तिम रुप दिन सदनमा पेश हुन मात्र बाँकी रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । त्यस्तै केही प्रदेश ऐन विद्येयक भने छलफलका लागि प्रदेशसभा सचिवालयमा दर्ता भएको र सदनमा पेश हुन मात्र बाँकी रहेको उनले बताए । आजको बैठकको कार्यसूचीबारे कार्यव्यवस्था समितिले निर्णय गर्ने उनले बताए ।

बागमती प्रदेशसभामा पहिलो पटक प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले रहेको छ । पार्टी विभाजनपछि स्पष्ट बहुमतमा रहेको एमाले अल्पमतमा परेसँगै सत्ता च्युत बनेको थियो । ५६ सांसद रहेका एमाले अहिले ४३ सांसदमा सिमित छ।

त्यस्तै ५८ सांसदको समर्थनका साथ सत्ताको नेतृत्व गरीरहेको नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रको २३ जना, नेपाली कांग्रेसको २२ जना, विवेकशील साझाको ३ जना, नेमकिपाको २ जना, राप्रपाको २ जना र जसपाको एक जना सांसद् रहेका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post