सुदूरपश्चिम प्रदेश : प्रदेश निजामती विधेयक अझै अनिश्चित !

 कोरखबर   २१ मंसिर, २०७८



मंसिर २१,धनगढी। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेशसभामा पेस भई हाल विधायन तथा प्रदेश मामिला समितिमा छलफलका क्रममा रहेको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७८’ अन्योलमा परेको छ । संसदीय समितिका सदस्यहरूबीच आरक्षणका प्रावधानमा मत बाझिएपछि विधेयक अनिश्चित बनेको हो ।

प्रस्तावित विधेयकमा रानाथारू समुदायका सांसदहरूले आफ्नो समुदायलाई बेग्लै आरक्षणको प्रावधान राखिनुपर्ने अडान लिएका छन् । सरकारले गत असारमै प्रदेशसभामा पेस गरेको उक्त विधेयकलाई प्रदेशसभा बैठकले संसदीय समितिमा पठाएको थियो । विधेयकको प्रस्तावित मस्यौदामाथि समितिमा पटक–पटक छलफल भए तापनि निष्कर्ष आउन नसकेको समितिका सभापति नेपालु चौधरीले बताए ।

विधेयकमा पदपूर्तिसम्बन्धी विशेष व्यवस्था प्रस्ताव गरिएको छ । उक्त व्यवस्थामा निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्याई सोलाई शतप्रतिशत मानेर छुट्टाछुट्टै प्रतिस्पर्धा गराएर पदपूर्ति गर्ने भनिएको छ । त्यसमा प्रदेश निजामती सेवामा आरक्षण र समावेशी व्यवस्थालाई पनि सुनिश्चित गरिएको छ । जसअनुसार दलित, थारू, आर्थिक रूपले विपन्न खस आर्य, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अपांग, मधेसी र मुस्लिम गरी ९ वटा वर्ग समुदायलाई आरक्षण कोटा निर्धारण गरिएको छ ।

कुल १० जना सदस्य रहेको विधायन तथा प्रदेश मामिला समितिमा राना थारू समुदायका २ जना सांसद छन् ।

प्रस्तावित विधेयकमा दलित समुदायलाई २१ प्रतिशत, थारूलाई २०, आर्थिक रूपले विपन्न खस आर्यलाई १७, आदिवासी जनजातिलाई १५, पिछडिएको क्षेत्रलाई १५, अपांगलाई ५, मधेसीलाई ४ र मुस्लिम समुदायलाई ३ प्रतिशत आरक्षण कोटा निर्धारण गरिएको छ ।

समिति सभापति नेपालु चौधरीले यस अवधिमा सरोकारवाला विभिन्न क्षेत्रबाट विधेयकमाथि राय सुझाव लिने कार्य गरिएको बताए ।

प्रस्तावित विधेयकमा आर्थिक योजना तथा तथ्यांक, इन्जिनियरिङ, कृषि, प्रशासन, वन, शिक्षा, स्वास्थ्य र विविध सेवा गरी ८ वटा सेवा समूह रहने प्रस्ताव गरिएको छ । प्रदेश सरकारले मातहतका निकायको संगठन संरचना र दरबन्दी सिर्जनासमेत गर्न सक्ने व्यवस्था छ । प्रदेश निजामती कर्मचारीको उमेरको हद ५८ वर्ष प्रस्ताव गरिएको छ । हाल प्रदेश सचिवसमेत संघ सरकारको प्रतिनिधि रहने व्यवस्था रहेकामा प्रदेश सरकारले प्रदेश सचिव मात्र नभई प्रमुख सचिवसमेत प्रदेश मातहतकै हुने प्रस्ताव गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post