असोज १९, काठमाडौं । सत्ता गठवन्धन आबद्ध दलहरुबीच मन्त्रालय र मन्त्रीको संख्याको विषयमा सहमति जुटेको छ ।
पूर्व सहमति अनुसार नै कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जसपाले ५/५ मन्त्रालय भागबण्डा गर्ने गरी शीर्ष तहमा सहमति भएको हो । उच्च स्रोतका अनुसार कांग्रेसले रक्षा मन्त्रालयको अडान छाडेर स्वास्थ्य, संचार तथा सुचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ ।
यसैगरी माओवादी केन्द्रले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा एसले संस्कृती पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, यूवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउने सहमति बनेको छ ।
यसैगरी जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रसासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ ।
सो सहमतिलाई अन्तिम रुप दिएर मन्त्रालयकोसमेत भागबण्डा गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले सत्ता गठवन्धन आबद्ध शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तार, संसदको गतिरोध अन्त्य, समसामयीक राजनीतिक अवस्था लगायतका विषयमा बैठकमा छलफल भइरहेको जानकारी दिए । सबै विषयमा सहमति भए आज साँझसम्म वा ढिलामा भोली बुधबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।
संख्या र मन्त्रालयमा सहमति जुटेसँगै माओवादी केन्द्रले आज मन्त्रीको नाम टुंगो लगाउन स्थायी कमीटी बैठक बोलाएको छ । वालुवाटारमा जारी शीर्ष तहको बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।