जीपको ठक्करबाट घाइते ५ छात्रामध्ये २ को मृत्यु !

 कोरखबर   १५ असोज, २०७८



असोज १५, दाङ । जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये दुईको उपचारका क्रममा दाङको तुलसीपुरमा मृत्यु भएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले घाइतेमध्ये १५ वर्षीया सुशीला नेपालीको दाङमा उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको जानकारी दिए ।

१८ वर्षीया मिना परियार, १८ वर्षीया दीपा बुढाथोकीको उपचार कहाँ भइरहेको छ  भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ। ‘यहाँबाट सबैलाई दाङ पठाएका हौं,’ प्रवक्ता पौडेलले भने, ‘तर, उनीहरू दुई जनाको अभिभावक सम्पर्कमा आउनु भएको छैन। त्यसैले दाङमै उपचार भइरहेको छ वा बाहिरी थाहाँ हुन सकेन।’

मृतक र घाइते सबै शारदा नगरपालिका ६ का हुन्। उनीहरु सबै नगरपालिकाको वडा नं. १ स्थित शिबजन माद्यमिक विद्यालय सितलपाटीमा अध्यनरत छन्।  शुक्रबार बिहान दश बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो ।

थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका डबल क्यापे जीपले बिहान दश बजेतिर शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो। 

तीब्र गतिको डबर क्यापले ठक्कर दिएकामध्ये सबैलाई  छाति, अनुहार, हात-खुट्टालगायत शरीरका बिभन्न भागमा गम्भीर चोट पटक लागेको प्रहरीले जनाएको छ। चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच आक्रोशित स्थानीयले दिउँसो दुई बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन्। जसले गर्दा सल्यानहुँदै दाङ आउने यातायातका साधन बीचमै रोकिएका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post