मेलम्ची खानेपानी पुनर्निर्माणको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा पुग्यो !

 कोरखबर   १५ असोज, २०७८



असोज १५, काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। मेलम्चीको पुनर्निर्माणबारे मन्त्रालयले एउटा कार्यदल गठन गरेको थियो। त्यो कार्यदलले पुनर्निर्माणमा अढाइ अर्ब लाग्ने अनुमानसहितको विशेष खालको कार्ययोजना मन्त्रालयमा बुझाएको थियो।

उक्त कार्ययोजना लामो छलफलपछि प्रधानमन्त्री कार्यालय बुझाइएको हो। कार्ययोजनामाथि दसैंअगाडि नै मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन्। यो कार्ययोजनामा मेलम्ची खानेपानी आयोजनामा रहेका दुइटा अस्थायी सुरुङ मर्मत गर्नुपर्ने, हेडवर्क्स मर्मत, मोटरेबल पुल मर्मत लगायत छन्।

मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार सडक निर्माण र मोटरेबल पुल बनाउन सडक विभाग र नेपाली सेना समेतको सहयोग लिइने कार्ययोजना छ।

‘कार्ययोजना पेश गर्दा मुख्य-मुख्य क्षतिको विवरण उल्लेख थियो, बाढीले अकल्पनीय क्षति गरेका कारण मर्मतको लागत बढ्न पनि सक्छ,’ खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले भने। मेलम्ची नदीले अस्थायी रूपमा बनाइएको हेडवर्क्सको दसदेखि पन्ध्र मिटर क्षेत्रमा बालुवा-गिट्टी र लेदो थुपारेको छ। हेडवर्क्सलाई मर्मत गरेर चलाउन सकिन्छ भन्ने हालको अनुमान छ। ‘

उनका अनुसार मेलम्चीको मुख्य सुरुङमा क्षति छैन। अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ। त्यसलाई सफा गर्नुपर्ने भएको छ। त्यसैगरी, २१० मिटर लामो हेडवर्क्स र डाइभर्सनबीचको अस्थायी सुरुङमा पनि लेदो थुप्रिएको छ। त्यसलाई सफा र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्ययोजना छ।

यसैगरी, मेलम्ची छिर्ने मुख्य प्रवेश मार्गमा तीन वटा पुल, अम्बाथान र त्यसभन्दा पारिपट्टि अर्को गरेर पाँच वटा अस्थायी पुल निर्माण गर्नुपर्ने भएको छ। मेलम्चीमा आएको बाढीले पहिले भएका चार वटा मोटरेबल पुल बगाइदिएको छ।

मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने करिब पाँच किलोमिटर सडक नयाँ निर्माण गर्नुपर्ने भएको छ। अस्थायी सुरुङ कति टालिएको छ, गेटहरूमा कति क्षति भएको छ भन्ने आँकलन पनि कार्ययोजनामा छ।

गत असार १ गते पहिलोपटक मेलम्ची नदीमा बाढी आउँदा हेडवर्क्स, अस्थायी सुरुङमा क्षति हुनुका साथै बाढीले पुलहरू बगाएको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post