१२ असोज, सिओल । उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । उसले पूर्वी सामुद्रिक तटीय क्षेत्रमा मंगलबार बिहानै क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि पुनः कोरियाली प्रायद्विपमा अशान्त बन्ने देखिएको छ ।
राष्ट्र संघको महासभामा उत्तर कोरियाली राजदूतले आत्मारक्षाका लागि हतियारको परीक्षण गर्न प्योङयाङको अधिकार कसैले नकार्न नमिल्ने बताएका थिए । सो लगत्तै उत्तरले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको हो ।
केही दिनअघि मात्र उत्तरले दक्षिणसँग वार्ता गरी शान्ति सम्झौता गर्न सकिने बताएको थियो । क्षेप्यास्त्र प्रहारको घटनालाई लिएर दक्षिण कोरियासहित अमेरिका र जापानले विरोध गरेका छन् ।