पुष ५, एजेन्सी । फिलिपिन्समा शक्तिशाली आँधीबाट मृत्युको हुनेको संख्या करिब २०८ पुगेको छ।
करिब ४ लाख मानिस प्रभावित भएको भारतीय संचारमाध्यमले जनाएका छन्। गत बिहीबार र शुक्रबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधी आएको थियो। त्यसपछि आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ।
समाचारमा बताइएअनुसार बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। कतिपय मानिस वेपत्ता भएको जनाइएको छ। अहिले अधिकारीहरु मृतकको पूर्ण आँकडा संकलनमा व्यस्त छन् । आँधीपछि आएको पहिरो र बाढीका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक संकलन भइरहेको छ।
हावाहुरीका कारण धेरै ठाउँमा विद्युत, खानेपानी अवरुद्ध भएको छ। जसले गर्दा जनजीवन प्रभावित भएको छ। राईलाई पाँचौं श्रेणीको आँधी मानिएको छ, जुन निकै भयानक छ। बोहोल प्रान्तसँगै यसले सेबु, लेयते, सुरिगाओ डेल नोर्टे प्रान्तलाई पनि असर गरेको छ।