कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्‍ताह शुरु !

    १ असोज, २०७८



असोज १, सुर्खेत । कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्‍ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र संयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा प्रदेश राजधानी  वीरेन्द्रनगरमा शुक्रबारबाट दिगो विकास लक्ष्य सप्‍ताह कार्यक्रम शुरु भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको  जानकारी दिए ।

सप्‍ताहको पहिलो दिन आज सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य तथा युएनडिपीको भूमिका बारे युएनडिपी कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले सम्बोधन गरेका छन् । त्यस्तै कर्णाली प्रदेश दिगो विकास लक्ष्यको आधार तथ्याँक तथा भावी रणनीतिका बारेमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले सम्बोधन गरेका छन् ।

समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुनरुत्थानका लागि दिगो विकास भन्ने मुल नाराका साथ शुरु भएको सप्‍ताहमा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड–१९ को घरेलु खाद्य सुरक्षा र जीविकोपार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरु, निहितार्थ, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रदेशको विकास योजनामा प्रभावकारी नीति निर्माण, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य धारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श, दिगो विकास लक्ष्य अन्तरगत बालश्रम अन्त्य गर्ने गुरुयोजना विमोचन, रेडियो र टेलीभिजन अन्तरक्रिया÷प्यानल छलफल गर्ने लगायतका कार्यसूची रहेका छन् ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरु, कर्णाली प्रदेश जिल्ला समन्वय समिति महासंघ, प्रदेश नगरपालिका तथा गाँउपालिका महासंघका प्रमुखहरु तथा युएन एजेन्सी, कर्णाली प्रदेश गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरू र नीजि क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको योजना आयोगले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post