काबुलमा महिलाहरुको प्रदर्शन, तालिबानले गरे हस्तक्षेप !

 एजेन्सी   २० भदौ, २०७८



भदौ २०, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिबान अधिकारीले हस्तक्षेप गरेका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि महिला अधिकारको क्षेत्रमा भएका प्रगतिहरु संकटमा आएको भन्दै विश्वभर चासो र चिन्ता व्यक्त भइरहेको छ ।

यहिबिचमा अफगानिस्तानका अधिकारवादी महिलाहरुले काबुलमा अधिकारको माग गर्दै प्रदर्शन गरेका हुन् । महिला अधिकारवादी समूहले आफूहरुको प्रदर्शनमा तालिबानले अश्रु ग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन् । महिलाहरुको समूह राष्ट्रपति भवन तर्फ जानका लागि पुल तर्दै गरेका बेला तालिबानका अधिकारीले हस्तक्षेप गरेका हुन् ।

तर तालिबानले भने प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएको बताएको अफगान सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । पछिल्ला दिनमा काबुल र हेरातमा महिलाहरुले अधिकारको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

महिलाहरुले काम गर्न पाउनु पर्ने र सरकारमा आफूहरुको पनि सहभागिता हुनु पर्ने माग गर्दै आएका छन् । तालिबानले महिलाहरु सरकारमा सामेल हुन पाउने तर मन्त्री पद भने नदिइने बताएको छ ।

गएको अगस्ट १५ मा तालिबानले आफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो । तालिबानको शासनमा आफूहरुको अधिकार कुण्ठित हुने र भएको भन्दै महिलाहरुले प्रदर्शन गरेका छन् ।

यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबान सत्तामा रहँदा उनीहरुले महिलालाई पूरै शरीर ढाक्ने लुगा (बुर्खा) लगाउन बाध्य पारेका थिए । यस्तै सामान्य गल्तीका लागि पनि गम्भीर सजाय दिने गरेका थिए । १० वर्षमाथिका बालिकालाई विद्यालय जान दिएका थिएनन् । सोही प्रकृतिको शासन अहिले पनि हुने डर छ ।

प्रदर्शनमा सहभागी भएकी अकीक महिला सोरायाले समाचार संस्था रोयटर्ससँग भनेकी छन्, ‘उनीहरु ९तालिबान० ले महिलाको टाउकोमा बन्दुकको म्यागजिनले प्रहार गरे । ती महिलाको टाउको रक्ताम्य भएको थियो ।’

यसैबिच तालिबान र पानशिर उपत्यकाका नेशनल रेसिस्टेन्ट फ्रन्ट (एनआरएफ) बिच भिडन्त जारी छ । पानशिर एक मात्र प्रान्त हो, जो तालिबानको नियन्त्रणमा छैन ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post