भदौ १५, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ ।
मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने केन्द्रीय सदस्य बलबहादुर केसीले बताए । उनका अनुसार संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।
पौडेल समूहमा सभापतिका लागि चार नेता आकांक्षी छन् । पौडेलसहित महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दावी गरेका छन् ।
महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनुअघि साझा उम्मेदवार तय गर्ने, नभए कम्तीमा एउटा मात्रै उम्मेदवार बन्छौं भनेर सामूहिक प्रतिवद्धता जनाउने तयारी पौडेल समूहको छ ।