बीपी राजमार्ग एकतर्फी खुल्यो, ठाउँठाउँमा पहिरो !

 कोरखबर   ११ भदौ, २०७८



भदौ ११, सिन्धुली । बर्दिवास–सिन्धुलीमाडी खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बीपी राजमार्गमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

कमलामाई नगरपालिका ११ फाल्चुरी नजिक बिहीबार राति पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । १२ घण्टापछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरोसँगै बगेर आएको रुख हटाएर सडकको एक छेउ मेसिन लगाएर सफा गरेपछि एकतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रनाउ मनोजकुमार लामाले जानकारी दिए । पानी पर्न नरोकिँदा पहिरो खसिरहेकाले जुनसुकै बेला यातायात अवरुद्ध हुनसक्ने प्रवक्ता लामाको भनाइ छ ।

बीपी राजमार्गको बर्दिवास–सिन्धुलीमाडी खण्डमा दर्जन बढी स्थानमा सानाठूला पहिरो खसेको छ भने खहरेको लच्कामा गेग्रान थुप्रिएको छ । गोलन्जोर गाउँपालिकाको कालीआँपमा पहिरो खस्दा अवरुद्ध बनेको मध्ये पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अझै खुल्न सकेको छैन् । फिक्कल गाउँपालिका ६ मा खसेको पहिरो पनि पन्छाउन नसक्दा लोकमार्गमा यातायात सञ्चालन गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरु, ओखलढुंगा, खोटाङ, भोजपुर र सोलुखुम्बुबाट संघीय राजधानी काठमाडौं आउजाउ गर्ने सयौं सवारीसाधनहरु बाटामै अलपत्र परेका छन् । त्यस्तै मदन भण्डारी राजमार्गको सिन्धुलीमाडी–हरिहरपुरगढीखण्डमा पनि पहिरो खसेको छ ,त्यहाँपनि सडक अवरुद्ध बनेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post