भदौ ११, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएका व्यवहारिक कठिनाई समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।
पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन सभापतिसँग ठोस छलफल गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार वरिष्ठ नेता पौडेलले आजै सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।
बैठकपछि प्रतिक्रिया दिदैं कांग्रेस नेता डा.मिनेन्द्र रिजालले महाधिवेशन तोकिएकै मितिमा सुरु गर्न देखिएका व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको जानकारी दिए ।
पौडेल पक्षले यसअघि नै जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाइसकेको छ ।
बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह सहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइराला लगायत उपस्थित थिए ।