श्रावण ३१, गोरखा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गोरखामा १० दिनका लागि निषेधाज्ञा जारी भएको छ ।
आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले निषेधाज्ञा जारी गरेका हुन् । भदौ १ गते राति १२ बजेबाट ११ गते राति १२ बजेसम्म लागू हुने गरि निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए ।
पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र गतिमा बढिरहेकाले रोकथाम नियन्त्रण र व्यवस्थापन गर्न निषेधाज्ञा जारी गरी यस अवधिमा परीक्षणको दायरा बढाउने उनले बताए । निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको छ । कोरोना संक्रमितको संख्या घटेसँगै सार्वजनिक यातायात निर्वाध रुपमा चलेका थिए । खाद्यान्न लगायतका पसलहरु पनि खुलेका थिए ।
संक्रमणको जोखिम बढेपछि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्री बिक्रीका लागि समय सीमा निर्धारण भएको छ । दैनिक उपभोग्य खाद्यान्न, तरकारी,फलफूल, दूध तथा दही, माछा–मासु, कृषिजन्य बिउविजन, मल, पशुपक्षिंको दाना बिक्री वितरण गर्ने पसल र वर्कसप स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्ने गरी बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्ने समय सीमा तोकिएको छ । बंैक तथा वित्तीय संस्थाको सेवा बन्द गर्न भनिएको छ । गोरखा नगरपालिका क्षेत्रभित्रका बंैकहरुले सम्पर्कका आधारमा दिने अत्यावश्यक सेवाका लागि सम्पर्क व्यक्ति तथा सम्पर्क नम्बरसहितको सार्वजनिक सूचना प्रकाशन गरी आकस्मिक सेवा मात्र प्रवाह गर्न पाउने छन् । अन्य पालिकाको हकमा सम्बन्धित पालिकाले गरेको निर्णय अनुसार बंैकको सेवा सञ्चालन हुने छ ।