१ साउन, एजेन्सी । तालिबानका लडाकुहरू अफगानिस्तानको राजधानी काबुल नजिक पुगेको समाचार एजेन्सी एएफसपीले जनाएको छ । तालिवानले आइतबार बिहानमात्र देशको पूर्वमा रहेको मुख्य सहर जलालावादमा बिना संघर्ष कब्जा गरेको थियो ।
विदेशी सञ्चारमाध्यमका अनुसार तालिबानका नेताले अफगान सरकारसँग वार्ता गरिरहेको छ । तालिबानले आफ्नो बयानमा भनेको छ,‘हाम्रा लडाकु सहरको बाहिरी इलाकामा छन् तर अहिले नै सहरभित्र छिर्दैनन् । यद्यपि सरकारको साथमा सत्ता हस्तान्तरण र सुरक्षाको विषयलाई लिएर वार्ता भइरहेको छ ।’
यता अफगान राष्ट्रपति असरफ गनीले केही समय अगाडि ट्विटरमा राजधानीमा स्थिति नियन्त्रणमा रहेको बताएका थिए ।समाचार एजेन्सी एपीका अनुसार तालिबानले भनेको छ, 'हामीले शक्तिको प्रयोग गरेर काबुलमा कब्जा गर्न चाहँदैनौँ ।'
२० वर्षको सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । अफगानी सैनिक र तालिबानबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ ।
संयुक्त राष्ट्र संघका अनुसार बितेको तीन महिनामा तालिबान र सुरक्षाकर्मीबीच झडप हुँदा एक हजारभन्दा धेरै आमनागरिक मरिसकेका छन् । यसैगरी करिब ढाइ लाख नागरिक विस्थापित भएका छन् ।