मोहमद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी

 कोरखबर   २९ सावन, २०७८



साउन २९, काठमाडौ । रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ।

आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी रहेको छ। आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुुनुपर्ने माग गरिएको छ।

जिल्ला,उच्च हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचराधीन रहेको छ। न्यायाधीश राउत र रेग्मी नेपाली कांग्रेसको कोटामा सर्वोच्चको स्थायी न्यायाधीश सिफारिस भएका हुन्। आलमको निवेदन पहिलो नम्बरमा पेसी रहेको छ।

पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ। कोभिड(१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण ब्यापक भएकाले रिहाई गर्नुपर्ने तर्क आलामको निवेदनमा गरिएको छ।

आलमलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने  जिल्लाको आदेश सदर गरेको थियो। जिल्ला अदालत रौतहटले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए। उच्चले  जिल्ला अदालतकै आदेश  सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो। 

आलम २०७६  पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशीको इजलासले आलमलाइै थुनामै पठाउने जिल्लाको आदेश सदर गरेको थियो। २०७६  कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय रौतहटले माग गर्दै मुद्दा दायर गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post