साउन २४, उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ अँधेरी झर्ना नजिकै रुख ढलेर एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका– ४ कटारी बजारकी २८ वर्षिय निशा दनुवार रहेकी छिन् । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कटारीबाट अँधेरी आउँदै गरेको प्र.२–००१–०१ ह ०५६० नम्बरको अटोमा सवार उनको सडक भन्दा माथिबाट खसेको सालको रुखले किन्दा घटनास्थलमा नै ज्यान गएको हो । घटनामा घाईते हुनेहरुमा कटारी नगरपालिका– ४ कटारीका २७ वर्षिय मिना दनुवार, मृतकका श्रीमान ४० वर्षिय श्याम दनुवार र अटो चालक कटारी नगरपालिका–५ का ४८ वर्षिय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ । घाईते सबैको कटारी अस्पतालमा उपचार भई रहेको छ ।
सडक माथिबाट ढलेको सालको रुखले प्र.२–००१–०१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटरसाईकल क्षतबिक्षत बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।