साउन १५, काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी विधिअनुसार चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा विपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले पार्टीलाई विधान अनुसार चलाउन नसकेको दोष सबैले लिनुपर्ने पनि बताए ।
पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवादका विषयमा पार्टी पदाधिकारीले हस्तक्षेप गर्नु विधानविपरीत भएको उनको भनाइ छ । उनले पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको उल्लेख गरे ।
पार्टीले विधानमा बाहिर गएर क्रियाकलाप गर्दै आएको उनले बताए । थापाले कांग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने धारणा पनि राखे । फरक प्रसंगमा थापाले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन सिंगो पार्टी लाग्नुपर्ने भन्दै सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताए ।