साउन १३,काठमाडौं । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बुधबार बिहान झन्डै २ घन्टासम्म बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो।बैठकमा मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा छलफल भएको छ।
साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छ।
आजको बैठकमा गठबन्धनका नेताहरूले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए। मन्त्रीहरू नहुँदा सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ थियो।
बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत थिए।
गठबन्धन बैठकमा एमाले नेता माधवकुमार नेपाल भने आज अनुस्थित रहे। तर उनले आफ्ना तर्फबाट विजय पौडेललाई बैठकमा पठाएका थिए।
साथै गठबन्धनका दलबाट आज अरू नेताहरू पनि बैठकमा सहभागी रहे। कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए।
यस्तै नेकपा माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ, जसपाबाट अशोक राई, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल आजको बैठकमा उपस्थित थिए।
गठबन्धनको बैठकमा कोरोनाविरूद्ध थप खोप ल्याउनेबारे पनि कुराकानी भएको थियो। सरकारले कोरोनाविरूद्ध खोप पर्याप्त मात्रामा ल्याएर जनतालाई छिटो लगाउने व्यवस्थापन मिलाउनुपर्ने सुझाव आएको थियो।