राष्ट्रपति भण्डारीबाट पदको गरिमा नै समाप्त : सभापति देउवा

 कोरखबर   १४ असार, २०७८



असार १४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् ।

विपक्षी गठबन्धनले सोमवार संघीय संसद भवनको लोत्से हलमा बुद्धिजीवीसँग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताए ।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुनसक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उनले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्‍याए ।

संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफूहरू विश्वस्त रहेको बताए ।

उनले अदालतले स्वतन्त्र न्यायालयको छवि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताए ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ रु’ भनी प्रश्न गरे  ।

‘रेस्पेक्ट गर्नसक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ रु’ उनले भने ।

प्रधानमन्त्री ओलीले सोमवार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मूल्यमान्यता छाडेर प्रचण्ड पथमा हिँडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शीर्ष नेतामाथि तिखो टिप्पणी गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post