असार १२, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । उपत्यकाका तीजिन ओटै जिल्ला प्रशासनले कोरोना भाइरसको संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञा अझै एक हप्ता लम्ब्याउने तयारी गरेका हुन्।
निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कुन-कुन क्षेत्रलाई खुकुलो तुल्याउने र कुन-कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय भै-नसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
आइतबार बेलुका बस्ने उपत्यकाका तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै थप आदेशहरु जारी गर्ने भएका छन् । सार्वजनिक यातायात खुलाउन दबाब आइरहेपनि तत्काल खुला गर्ने तयारी आफूहरुको नरहेको ललितपुरका सीडीओ निरौलाले बताए ।
यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले पनि अहिलेको परिस्थितीमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुलाउने परिस्थिती नरहेको बताएका छन् ।
‘उपत्यकाबाहिर संक्रमण दर कम भएका ठाउँमा खुलाएपनि काठमाडौंको सक्रिय संक्रमित संख्या हेर्दा खुलाउने परिस्थिती छैन’ उनले भने, ‘जिल्लाको परिस्थिती हेरेर गर्न सकिन्छ । अझै केही समय काठमाडौंमा यातायात खुलाउन मिल्दैन ।’
अहिले पनि मुलुकको पजेटिभ हुने दर झन्डै २० प्रतिशत छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेको छ ।