जेठ २८, काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले गृहकार्य सुरू गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।
वैकल्पिक सरकारको नेतृत्व लिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल अघि सरेका छन् । कांग्रेससहित माओवादी, जसपा र जनमोर्चाको समर्थन उनलाई छ । स्वतन्त्र संसद दीपक मनाङेले पनि हिजो पदबाट राजीनामा दिँदे विपक्षी गठवन्धन लाग्ने घोषणा गरेका छन् । उनको समर्थनसँगै कृष्णचन्द्रको पक्षमा बहुमत जुटेको छ ।
हिजो भएको मतदानमा सरकारको पक्षमा २७ र विपक्षमा ३० भोट परेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । हिजोको मतदानको आँकडाका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो । मनाङेको समर्थनसँगै त्यो सुनिश्चित भएको हो ।
हिजो कांग्रेसका १५, माओवादीका ११ जसपाका २ र जनमोर्चाका २ सांसदले सरकारको विपक्षमा मतदान गरेका थिए । उनीहरु सबैले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने विश्वास पोखरेलको छ ।
पोखरेलले आफूहरूसँग सरकार गठनका लागि आवश्यक बहुमत रहेको बताए । उनले भने, ‘हामीसँग बहुमत छ । प्रदेश प्रमुखले आह्वान गरेपछि दावी पेस गर्छौं ।
को हुन् कृष्णचन्द्र नेपाली पोखरेल ?
नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।
२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।
२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले(माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।