बैशाख २२, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
बुधबार तीन नेताबीच २७ गते संसदमा हुने मतदानाका विषयमा हात्तीवनस्थित एक घरमा कुराकानी भएको हो। उनीहरुबीच केपी ओलीलाई सत्ताबाट निकाल्ने विषयमा छलफल भएको स्रोतको दाबी छ।
ओलीले कारबाही गरेर पार्टीबाटै निकाल्न खोजेको सन्दर्भमा एमालेमा नेपाल पक्ष उनलाई समथर्न गर्ने पक्षमा छैन। ओलीमा सत्ताका कारण अहम् बढेको निष्कर्षसहित नेपाल पक्ष जसरी पनि ओलीलाई सत्ताबाट च्युत गराउने रणनीतिमा लागेको छ। नेपालसँग एमालेका ३० हाराहारी सांसद रहेका छन्।
त्यस्तै माओवादीले बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एकता भंग भएपछि ओलीलाई राजीनामा दिन दबाब दिँदै आएको माओवादी कुनैपनि हालतमा वर्तमान सरकार निरन्तर होस् भन्ने पक्षमा छैन।
जसपाको उपेन्द्र बाबुराम पक्ष पनि ओलीको विपक्षमा उभिएको छ। यस्तो सन्दर्भमा दाहाल, नेपाल र यादव ओलीलाई विश्वासको मतमा विफल गराएर अर्को सरकार गठन गर्ने विषयमा केन्द्रित भएका छन्।
अर्को सरकार गठन गर्न सहज पार्न नेपाल पक्षले २७ गतेअघि नै राजीनामा दिने विषयमा पनि छलफल भइरहेको छ। बुधबारको भेटमा त्यसबारे पनि कुराकानी भएको यादव निकट स्रोतले जानकारी दियो।
जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावबारे नेताहरुबीच कुराकानी भएको छ। कांग्रेसले पनि ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।