काठमाडौं, बैशाख १४ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । काठमान्डौ गोङ्गबु लगाएतका बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ ।
अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात प्रशासनको सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि उपत्यकाबाट घर फर्कने यात्रुहरुको भीड लागेको हो ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट समेत पाउन मुस्किल भएको यात्रुहरुले गुनासो गरेका छन् । लामो दूरीका सवारी साधन सिमित भएकाले पनि टिकट अभाव भएको व्यवसायीहरु बताउँछन् ।
गोङ्गबु नयाँ बसपार्कबाट मात्रै हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।