गण्डकी प्रदेश : अविश्वास प्रस्तावमा फ्लोर क्रसको डरले सांसदहरुलाई रिसोर्टमा राखियो !

 कोरखबर   १४ बैशाख, २०७८



वैशाख १४, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा रहेका दलहरुले आफ्ना सांसदहरुलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन् । कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई मंगलबारदेखि पोखराको रिसोर्टमा राखेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा छन् । जसपाले भने आफ्ना प्रदेशसभा सदस्यहरुलाई कुटी नजिकैको अर्को एक होटलमा राखेको छ ।

‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरुको संख्या नघटोस् भनेर साथीहरुलाई एकै ठाउँमा राखिएको र आज पनि उनिहरु रिसोर्टमा नै बस्ने बताईएको छ । 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकै ठाउँ भेला भएको बताए । उनले अविश्वासको प्रस्तावको पक्षमा ३२ भन्दा बढी प्रदेशसभा सदस्यहरुले मत दिने दाबीसमेत गरे ।

गण्डकीमा तीन प्रदेशसभा सदस्य रहेको जनमोर्चासमेतको भोट पाउँदा अविश्वास प्रस्तावको पक्षमा ३१ मत पुग्छ जुन मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्न पुग्ने संख्या हो ।

एमाले नेता गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले यही वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकीमा नेकपा एमालेका २७ सांसद छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post