अयोग्यको बिल्ला खारेज गर्न बहिर्गमित जनमुक्ति सेनाको माग !

 कोरखबर   १० बैशाख, २०७८



बैशाख १०, काठमान्डौ । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेको हो ।

त्यसैगरी तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौताअनुरूप तत्कालीन समयका १८ वर्षमुनिका बाल सेनाहरूलाई पुनर्स्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनुपर्ने पनि माग गरेको छ।

बहिर्गमित जनमुक्ति सेनालाई स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनासरह आर्थिक प्याकेज दिनुपर्ने, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरूलाई औषधि–उपचारसहितको दीर्घकालीन व्यवस्था गरिनुपर्ने र सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाका सदस्य तथा तिनका बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नसमेत माग गरेका छन्।

बहिर्गमित जनमुक्ति सेना नेपालका इन्चार्ज असिम आङबुहाङ लिम्बूले जनयुद्धकालका नेतृत्व तथा कमान्डरहरूले आफूहरूलाई बेवास्ता गरेको बताए । वर्तमान प्रधानमन्त्री केपी ओलीले भने जनमुक्ति सेना र आन्दोलनका योद्धाहरूलाई सम्झिएको बताए। नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ। –फाईल फोटो 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post