बैशाख ९, काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुवात भएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
कोरोना महामारीका कारण सरकारले लागू गरेको जनस्वास्थ्य मापदण्डका कारण ठूला कार्यक्रम भने हुने छैनन् ।
राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
पुष्पलाल पार्टीका महासचिव बनेका थिए । स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो ।
नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए । २०७४ को आमचुनावमा यी दुई पार्टी एकीकरणसहित चुनावी मैदानमा होमिए ।
जसमा नेपाल कम्युनिस्ट पार्टीले करिव दुई तिहाई मत पाएको थियो । त्यही मतका आधारमा केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । तर एकीकरणको तीन वर्ष नपुग्दै पार्टीहरु पुरानै अवस्थामा पुगेका छन् ।
कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्नुहुने बताइएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न लागिएको हो ।
यसैबीच नेकपा एमालेले आजदेखि थापाथलीस्थित नयाँ पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । भाडामा लिइएको घरमा पार्टी कार्यालय राख्न लागिएको हो । प्रधानमन्त्री ओली बिहान ११ बजे थापाथलीस्थित नयाँ पार्टी कार्यालय जाने कार्यक्रम छ ।