वैशाख ८, काठमान्डौ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनस् निर्माणपछि टुप्पोमा गजुर राखिएको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि धरहराको टुप्पोमा बुधबार गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले बताए ।
सुनको जलप लगाएको गजुर धरहराको टुप्पोमा राखिएको हो, जसमा ९५ तोला ३ लाल सुन रहेको छ। टुप्पामा गजुर राख्नुअईघि २१ तलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिव लिङ्ग र नयाँ गजुरको पूजा गरेका थिए।
भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन। वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ।
गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो। धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा फेरि उभिनु गौरवको विषय भएकाले वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए।