वैशाख ५, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताएका छन् ।
अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता झण्डै दुई वर्षदेखि रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको निरन्तर आलोचना गर्दै आएका छन् । शनिबार सर्वदलीय बैठकमा पनि सभामुखको आलोचना गर्दै उनले एमसीसीलाई संसदको विजनेस बनाउन दलहरुको सहमति खोजेका थिए ।
प्रधानमन्त्रीको नाम नलिई सभामुख सापकोटाले भने संसदलाई घेराबन्दी गर्न खोजिएको र सभामुखले आफ्नो पक्षमा भूमिका खेलोस् भन्ने चाहेको बताए ।
नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले भने, ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबावमा काम गर्दिनँ ।’