बैशाख ५, काठमान्डौ । राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।
आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दल त्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।
सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयसँगै संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ ।