बैशाख ५,काठमाडौं । महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीकै रुपमा निरन्तरता दिनका लागी कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका नेकपा (एमाले) का तीन पूर्व नेताले आज प्रदेश मन्त्रीको रुपमा शपथग्रहण गर्दै छन् ।
उनीहरूलाई शनिबार साँझ कर्णाली मन्त्रिपरिषद्ले शपथ खुवाउने निर्णय गरेर आइतबार बिहानै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइएको सांसद विन्दमान विष्टले जानकारी दिए । शपथको समय भने तय गर्न बाँकी रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत माग्दै गर्दा उनको विपक्षमा मत जाहेर गर्न एमालेको कर्णाली प्रदेश संसदिय दलले ह्वीप नै जारी गरेको थियो । तर मन्त्रिका रुपमा नियुक्त यि तिन नेताले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर नै क्रस गरेर शाहीको पक्षमा मतदान गरेका थिए ।
पार्टीको ह्वीप उल्लंघन गर्नेमध्ये कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री बनाउने निर्णय भएको विष्टको भनाइ छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेपाली कांग्रेसका ६ सांसदले पनि पक्षमा मतदान गरेका थिए । कांग्रेस भने तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
फ्लोर क्रस गरेकाले एमालेले उनीहरूलाई कार्बाही गरेको छ। पार्टी कार्बाहीसंगै उनिहरुको सांसद पद पनि निलम्बनमा परेको छ । यसअर्थमा उनिहरुको मन्त्री पदको आयु ६ महिनाको मात्रै हुनेछ । संविधानमा मन्त्री बनेको ६ महिनाभित्र सांसद हुनुपर्नेछ । अन्यथा, मन्त्री पद जानेछ ।