३ वैशाख, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको हो ।
आज बिहान ९ बजेदेखि सुरु भएको दलको बैठक ११ बजे विनानिष्कर्ष टुङ्गिएको र पुनः बस्ने कांग्रेसका एक सांसदले जानकारी दिए । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ।
यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ । आजको बैठकमा मुख्यमन्त्री शाहीले संसदबाटै विश्वासको मत लिने र यही सरकारले निरन्तरता पाउने माओवादी सांसदको दाबी छ । एमालेकै केही सांसदहरु फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा उभिने माओवादीको अपेक्षा छ।
४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्यमध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ ।
बहुमतका लागि एमालेसँग सभामुखसहित २० जना सांसद छन् । माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।