बैशाख २, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । गण्डकी प्रदेशसभा सचिवालयमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दलका सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावको पक्षमा २८ जना सांसदको हस्ताक्षर छ । जसमा कांग्रेसका १४, माओवादीका ११ र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् ।
अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने सहमति छ । अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राती नै प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
तर विशेष अधिवेशनको माग गर्दै चार दलका नेता तथा सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश प्रमुख शेरचन माओवादी केन्द्र निकट हुन् । गण्डकीमा एमालेको सरकार ढालेर माओवादी र कांग्रेस मिलेर जनमोर्चा, जसपासहितको नयाँ सरकार बनाउने सहमति छ ।