कोरोनाबारे सरकारी नीति : तत्काल लकडाउन नगर्ने, सतर्कता अपनाउने !

 कोरखबर   ३१ चैत, २०७७



चैत ३१, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोनासंक्रमण बारे छलफल गर्दै तत्काल लकडाउन नगर्ने नीति लिएको छ । 

कोभिड– १९ को बढ्दो जोखिमका विषयमै केन्द्रित भएको रहेको बालुवाटार बैठकले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको हो । तर, संक्रमण फैलन नदिन सचेतना जगाउने र जनतालाई सजग गराउने मन्त्रिपरिषद्को निर्णय छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्न मन्त्रीहरुलाई निर्देशन दिएको स्रोतले बतायो । बालबालिकाहरुमा संक्रमण देखिन थालेको र ११ वर्ष मुनिका बालबालिकाका लागि खोपको प्रबन्धसमेत नभएकाले सतर्क हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

विद्यालयहरु बन्द गर्न सीसीएमसीले सिफारिस गरे पनि सरोकारवालाहरुको रायलाई समेत ध्यान दिँदै तत्कालका लागि शैक्षिक संस्थाहरु बन्द नगर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । तर, विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न भनिएको छ ।

कुनै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आएका जिल्लास्तरीय डीसीएमसीले नै स्थानीय तहको जोखिमको अवस्था हेरेर विशिष्टरुपमा निर्णय लिन सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको स्रोतले बतायो ।

मन्त्रिपरिषदले तत्काल लकडाउन नगर्ने निर्णय लिएको छ । स्थानीय तहको स्थिति हेरेर भिन्नाभिन्नै ठाउँका लागि ठो निर्णय लिने बताइएको छ । तर, भीडभाडयुक्त ठाउँहरुको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ लागू गरिने मन्त्रिपरिषदको निर्णय छ ।

त्यसैगरी भारतीय सीमाबाट संक्रमण भित्रन सक्ने जोखिम बढेकाले नाकाहरुमा होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको स्रोतले बतायो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post