प्रतिनिधिसभा बैठक : संसदीय समितिका सदस्य हेरफेरको तयारी !

 कोरखबर   ३० चैत, २०७७



चैत ३०, काठमान्डौ । प्रतिनिधि सभाका विषयगत समितिमा केही सदस्यको हेरफेर हुने भएको छ । सोमवार बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले समितिमा रहने सदस्यको हेरफेरको सूचना सुनाउने तयारी गरेका हुन् ।

गत बिहीवारको बैठकमा नेकपा एमालेले नेकपा विभाजन बदर भइसकेको अवस्थामा आफूहरू समितिमा नेकपाको हैसियतमा बस्न बाध्य भएको भन्दै समितिमा हेरफेरको माग गरेको थियो । एमालेको आग्रहपछि सभामुख सापकोटाले छिट्टै समितिमा हेरफेरको तयारी गरेको बताएका थिए ।

सचिवालय स्रोतका अनुसार माओवादी केन्द्रले पनि समितिमा रहने सदस्यको नाम सभामुखलाई बुझाइसकेको छ । नेकपा विभाजनको प्रभाव स्वरूप संसदीय सुनुवाइ समितिमा रहेका ४ मध्ये २ सांसद समितिबाट हट्नुपर्ने भएको छ ।

नेकपा एमालेले यसअघि नै समितिमा हेरफेरको लागि नाम पठाइसकेको छ । जसअनुसार एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएर खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई पठाउन प्रस्ताव गरेको छ ।

यसअघि नेकपाका मुख्य सचेतक देव गुरुङले पूर्व माओवादी खेमाका ४ जनाको नाम संसदीय समितिमा सिफारिस गरेका थिए । एमालेले संसदीय समितिको सदस्य हेरफेरको प्रस्ताव गरेपछि १५ सदस्यीय समितिमा रहेका ४ मध्ये माओवादीका २ सांसद अन्य समितिमा जानुपर्नेछ । 

एमालेले संसद सञ्चालनको लागि महत्त्वपूर्ण ठानिएको कार्यव्यवस्था परामर्श समिति, संसद भित्रका २ प्रभावशाली समिति राज्य व्यवस्था र लेखा समितिमा पनि सदस्य हेरफेरको प्रस्ताव गरेको छ ।

राज्य व्यवस्थामा महेश बस्नेत, खेम लोहनी र दामोदर भण्डारीको नाम सिफारिस गरिएको छ । यसअघि मन्त्री रहेर समितिविहीन रहेका घनश्याम भुसाल र योगेश भट्टराईलाई कृषि तथा जलस्रोत समितिमा पठाउन सिफारिस गरिएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post