दोलखामा रेडियो नेपालको प्रसारण शुरु, मन्त्री गुरुङबाट औपचारिक उद्घाटन !

 कोरखबर   २४ चैत, २०७७



चैत्र २३, दोलखा । रेडियो नेपालले दोलखा सदरमुकाम चरिकोटबाट प्रसारण सुरु गरेको छ । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार गृह जिल्ला दोलखामा रेडियो नेपालको औपचारिक उद्घाटन गर्नुभएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ६ चरिकोट स्थित सिमपानीमा एफएम रिले केन्द्र स्थापना गरिएको परीक्षण प्रसारणमा रहेको रेडियो नेपालको आजदेखि नियमित प्रसारण सुरु भएको हो । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सही सूचनाबाट देशभरिका श्रोता सुसूचित हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

एफएम ब्यान्डमा रेडियो नेपालको प्रसारण पहुँच बढाउन एफएम रिले केन्द्रबाट १०० मेगाहर्जमा रेडियो नेपालको प्रसारण सुरु गरिएको रेडियो नेपालका इन्जिनियर कृष्णचन्द्र पौड्यालले जानकारी दिनुभयो । प्रसारणबाट दोलखाका साथै आसपासका अन्य क्षेत्रमा समेत रेडियो नेपाल एफएम ब्यान्डमा सुनिने भएको उहाँले बताउनुभयो ।

विसं २०५२ सालमा नेपालमा नै पहिलो एफएम प्रसारण गर्न सफल रेडियो नेपालले चैत पहिलो सातादेखि चरीकोटबाट थप एफएम रिले प्रसारण शुरु गरेको हो । दोलखासँगै हालसम्म रेडियो नेपालको एफएम रिले स्टेशनको सङ्ख्या २४ पुगेको छ । अन्य छ मिडियम वेभ स्टेशन र अनलाइनबाट केन्द्रीय तथा प्रदेशिक प्रसारण अलग–अलल सुन्न सकिने व्यवस्था रहेको जनाइएको छ।

रेडियो नेपालको प्रसारण देशका हरेक भूभागमा सहज रुपमा सुन्न सक्ने गरी प्रसारण पहुँच बढाउने सरकारको नीति अनुसार आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि रेडियो नेपालको एफएम प्रसारण विस्तार गरिँदै लगिने रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताउनुभयो ।

रेडियो नेपाल २००७ साल चैत २० गते प्रजातन्त्रको स्थापनाको पहिलो सन्देश बोकेर २५० वाटको सर्टवेभ ट्रान्समिटरबाट प्रसारण प्रारम्भ गरिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post