चैत २३, काठमाडौं । पानी नपरेका कारण वायु प्रदूषण अझै हट्न सकेको छैन । आज पनि राजधानी काठमाडौंको आकाश धुम्मल छ । दिउँसो पनि प्रदूषण रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वायू प्रदूषणका कारण आज पनि काठमाडौंमा विहानैबाट भिजिविलिटी निकै कम रहेको मौसमविद् समीर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विहानको तुलनामा दिउसो थोरै भिजिविलिटी बढे पनि प्रदूषण रहिरहने छ । पश्चिमी मौसमी प्रणाली सक्रिय नहुँदासम्म प्रदूषण नहट्ने उनको भनाइ छ ।
बिहानको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३५९ छ ।
विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा म्यान्मार, तेस्रो नम्बरमा भारतको नयाँ दिल्ली, चौथोमा बंगलादेशको ढाका छ । प्रदूषणका कारण फेरि सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।