चैत् १८, खोटाङ । खोटाङ प्राकृतिक सहयोग कोषले जिल्लाका चार आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पछिल्लो समयमा आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानीका थामबहादुर राई र पदमबहादुर खड्का, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका चन्द्रमणी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रामबहादुर राईलाई कोषले आर्थिक सहयोग गरेको हो ।
खोटाङ सेवा समाज हङकङले स्थापना गरेको कोषमार्फत आगलागीबाट विस्थापित परिवारलाई प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गरेको खोटाङ प्राकृतिक सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले बताए । केपिलासगढी गाउँपालिकाका आगलागी पिडितलाई सम्वन्धित वडाका जनप्रतिनिधिको रोहवरमा सोही गाउँपालिकाका खोटाङ प्राकृतिक सहयोग कोषका प्रतिनिधि समिर राईमार्फत आर्थिक सहयोग प्रदान गरिएको कोषले जनाएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आगलागी पिडितलाई सम्वन्धित वडाका जनप्रतिनिधिको रोहवरमा कोषाध्यक्ष युगसन किरातमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ । हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ २०७२ सालमा स्थापना गरिएको कोषको वार्षिक व्याजबाट प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । २० लाखबाट सुरु गरिएको कोषको मुल धन अहिले २८ लाख पुगेको कोषाध्यक्ष किरातले बताए ।