रामेछापमा ‘एक शैक्षिक संस्था, एक उद्यम’ कार्यक्रम सञ्चालन हुने !

 कोरखबर   १८ चैत, २०७७



१८ चैत, काठमाडौं । रामेछापमा विद्यार्थीलाई उद्यमतिर आकर्षित गर्न ‘एक शैक्षिक संस्था, एक उद्यम’ कार्यक्रम सञ्चालन हुने भएको छ। राष्ट्रिय युवा परिषद् र दोरम्बा गाउँपालिकाबीच ‘एक शैक्षिक संस्था, एक उद्यम’कार्यक्रम सञ्चालन गर्ने सहमति समेत भएको छ।

मंगलबार राष्ट्रिय युवा परिषद्को आयोजना र दोरम्बा गाउँपालिका स्थानीय संयोजनमा आयोजित अभिमुखीकरण कार्यक्रमबाट प्रभावित भएर उक्त कार्यक्रम लागू गर्न सामूहिक प्रतिबद्धता जारी भएको छ। दोरम्बा गाउँपालिकाका ९ वटा विद्यालयले एक/एक उद्यम गर्नका प्रधानाध्यापकले सहमतिसमेत जनाएका छन्।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कार्यक्रम लागू भएपछि विद्यार्थीले प्रत्यक्ष रुपमा विद्यालयमा सञ्चालन भएको उद्यममा सहभागी हुने बताए। उनले विद्यार्थीलाई विद्यालय तहदेखि नै रोजगारतर्फ आकर्षित गराउनका लागि अभियान आवश्यक रहेको स्पष्ट पारे।

ढुंगेलले विद्यालयलाई गाउँपालिकाले आर्थिक र परिषद्ले प्राविधिक सहयोग उपलब्ध गराउन भूमिका खेल्ने बताए । सहमतिअनुसार कृषितर्फ मत्स्यपालन, कुखुरापालन, बाख्रा पालन र तरकारी खेती तथा प्राविधिक तर्फका उद्यम सञ्चालन हुनेछ ।

उद्यम व्यवसाय विद्यालयमा सुरु गर्न आ-आफ्नो विद्यालयमा जनप्रतिनिधिसहितको सरोकारवाला भेला चैत्र मसान्तसम्म सम्पन्न गरी निर्णय गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले गाउँपालिकाबाट प्राप्त कार्यविधि बमोजिम  कार्यक्रम निरन्तर सञ्चालन गर्ने र स्रोत वृद्धि गर्दै लैजाने बताएका छन्।

गाउँपालिकाको तर्फबाट हस्ताक्षर गर्दै अध्यक्ष कमानसिं मोक्तानले एक विद्यालय एक उद्यम कार्यविधि पारित गरी विद्यालयलाई उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालयले सुरु गर्ने उद्यम / व्यवसायका आधारमा पाँच लाख रुपैयाँसम्म अगामी आर्थिक वर्षमा उपलब्ध गराउने सहमति पत्रमा उल्लेख छ।

बागमती प्रदेशले एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ स्वीकृत गरिसकेको छ।

कुन विद्यालयले कुन कार्यक्रम
१. श्री सुर्के देउराली मावि सुर्के : किवि, आलु खेती
२. श्री काकलिंग मा वि दोरम्बा : किवि खेती
३. श्री कण्ठेश्वर मावि टोकरपुर : माछा पालन
४. श्री खारपानी मावि खारपानी : आलु र काउली खेती 
५. शिवलिंगेश्वर मावि ताम्चेत : आलु र किवि 
६. श्री सेतीदेवी मावि गुन्साल : कुखुरा र बाख्रा पालन
७. श्री कालिका मावि रिट्ठे लखनपुर : फोहोर उठाउने प्यान र बिर्को डस्बिन
८. श्री भीमेश्वर मावि थापागाउँ : प्रांगारिक मल
९. श्री अन्तराष्ट्रिय युवावर्ष मावि : सुन्तला खेती



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post