अविश्वासको प्रस्ताव फिर्ता भएपछि बागमतीका मुख्यमन्त्रीलाई राहत !

 कोरखबर   १८ चैत, २०७७



चैत १८, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले नाम फिर्ता लिएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेर ६ महिना निलम्बनमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ जना सांसदहरुमध्ये २० जनाले नाम फिर्ता लिएका छन् ।

अझै एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको छ । प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् ।

गत पुस १० गते नेकपा माओवादीको २३ र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। एमालेका २० जना सांसदले नाम फिर्ता लिएपछि भने पौडेल सुरक्षित रहेका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फुटाएर २०७५ जेठ २ को अवस्थामा पुर्याउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउनु अगाडिसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले ओली निकटका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

फागुन २३ गते सर्वोच्चले उक्त फैसला गरेपछि भने पौडेलविरुद्धको अविश्वासको प्रस्ताव धर्मराएको थियो । अविश्वासको प्रस्तावका बारेमा भने सभामुख सानु श्रेष्ठले संसद संचालन गरेर छलफल चलाउनै सकेका थिएनन् । विभिन्न बहाना बनाएर बागमती प्रदेशसभा बैठक स्थगित हुँदै आएको छ ।

यता ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि भने नेपाल–झलनाथ खनाल पक्षले देशैभर एमालेको समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।   



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post