बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका !

 कोरखबर   १७ चैत, २०७७



१७ चैत, तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ।

बालमैत्रीका सबै सूचकहरु पूरा गरी गाउँपालिकाले एक कार्यक्रम गरी पालिकालाई नै बालमैत्री गाउँपालिका घोषणा गरेको हो। गाउँपालिकाकी बाल सञ्जाल अध्यक्ष ईन्दु गाहाले पालिकालाई बालमैत्री पालिका भएको घोषणा गरिन्।

अबका दिन बगनासकाली भित्रका बालबालिकाले सबै किसिमको अधिकार प्रयोग गर्न पाउने भाग्यमानी बालबालिका भएको भन्दै अध्यक्ष गाँहा खुसी भइन्।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद आफ्नो गाउँपालिका भित्र कुनै पनि बालबालिका अभिभावकविहीन बस्न नपर्ने बताए। गरिब, असहाय, अनाथ बालबालिकाको सबै कसिमको अधिकार तथा सेवा सुविधाको गाउँपालिकाले बजेटको सुनिश्चितता गरेको पालिका अध्यक्ष बस्यालले प्रतिवद्धता जनाए।

बालबालिकाका सबै किसिमका अधिकार रक्षाको नीतिगत रुपमा पालिकाले कानुन बनाएर कार्यन्वयनको लागि पक्रिया बढाएको उनको भनाइ छ। गाउँपालिकाले सबै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरेको, सबै बालबालिकाको शतप्रतिशत जन्मदर्ता गराएको, सबै गर्भवती महिलाको अनिवार्य ४ पटकसम्म गर्भ परीक्षणदेखि शत प्रतिशत गर्भवती महिलाहरु अस्पताल तथा बर्थिङ्ग सेन्टरमा मात्र सुत्केरी हुँदै आएको,  विद्यालयका लागि निर्धारण गरिएका ५० वटा सूचकहरु पूरा गरिएको, पालिकाभित्र बालश्रमिकहरु शुन्य रहेको, सबै बालबालिकाहरु विद्यालयको पहुँचमा पुगेको लगायत ९५ प्रतिशतभन्दा बढी सुचकहरु पूरा भएकोले नेपालका ४६० गाउँपालिकामध्ये बगनासकाली गाउँपालिका मुलुककै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको अध्यक्ष बस्यालले बताए। बालमैत्री पालिकाको  दीगोपन सुनिश्चितताको लागि सरोकारवाला सबैपक्षको  सहयोग अनिवार्य रहेको पालिकाले जनाएको छ। 

गाउँपालिकाले बालमैत्री रणनीति दीगोपना सुनिश्चितताको लागि घरदैलो कार्यक्रम, जनचेतना, प्रचार प्रसार र सरोकारवालाको अनुगमन, गाउँपालिकाका पदाधिकारीसहितको टोलीले निरीक्षण तथा अनुगमन पछि अनुगमन समितिले प्रतिवेदन पेश गरेपछि प्रतिवेदनका आधारमा गाउँपालिकालाई  बालमैत्री  घोषणा कार्यक्रम गरिएको उपाध्यक्ष सरस्वती चिदीले बताइन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post