१६ चैत, काठमाडौं । सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’
काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भर पर्ने बताइएको छ।
मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ।
विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपील गरेको छ।
विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरे।
आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सावारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ।
शुक्रबारयता काठमाडौँ उपत्यकालगायतका स्थानको वायु प्रदूषण सूचक (एक्यूआई) ३०० को हाराहारी रहेको छ । विभागका अनुसार मानव स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्यूआई राम्रो, ५० देखि १०० सम्म सामान्य तथा १०० देखि माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।