चैत १३, सर्लाही । सदरमुकाम मलंगवामा एक युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। बुधवार रातिदेखि बेपत्ता मलंगवा नगरपालिका–१० का ३० वर्षीय सुशील रायको शव बिहीबार बिहान घाँटी काटेर हत्या गरिएको अवस्थामा मलंगवा-९ मा फेला परेको थियो।
उनको हत्या आरोपमा ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र ४० वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। पक्राउ परेकामध्ये कमल मलंगवा-९ का हुन्। अशोक भारतीय नागरिक भएको प्रहरीले जनाएको छ। अशोक लामो सयमदेखि मलंगवामा बस्दै आएका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपी लागू औषध प्रयोगकर्ता भएको पाइएको एसपी राठौरले बताए। बुधबार साँझ समेत उनीहरु सँगै बसेर लागूऔषध सेवन गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। कमल र सुशीलबीच आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरोपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।
सुशीलको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो। शरीर भेटिएको ठाउँभन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ। मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझिसकेका एसपी राठौरले बताए।