चैत्र ९, ढाका । बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ।
सोमबार नै यहाँका विदेशमन्त्री डा.मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार यहाँ आइपुगेकी हुन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विशेष विमानबाट ढाका आइपुगेकी राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी सोमबार नै बंगलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन् ।
दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् । तस्बिरहरु: रासस