प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित !

 कोरखबर   १ चैत, २०७७



१ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

गत फागुन ९ गते संसदमा टेबल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको थियो । तर मुख्यमन्त्री शेरधन राईको दबावमा सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेपछि सोमबारका लागि बोलाइएको बैठक उनले अनिश्चितकालका लागि स्थगित गरेका हुन् । सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको सूचना यस अघि नै पठाएको थियो ।


विज्ञापन

 

सर्वोच्चको फैसलापछि नेकपाको तत्कालिन माधव–प्रचण्ड समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमाथिको छलफल के गर्ने भन्ने पनि अन्योल छ । अन्योलताकाबीच सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाएको बैठक स्थगित गरिएको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले विषेश कारणले बैठक स्थगित भएको बताए । उनका अनुसार अविश्वासको प्रस्तावमाथिको छलफल के हुन्छ भन्ने निर्णयमा पुगिएको छैन ।

पराजुलीले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ । सोमबार बैठक सञ्चालन गर्नका लागि आइतबार प्रदेशसभा सदस्यहरुलाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।



 प्रतिक्रिया


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post