२६ फागुन, काठमाडौं । प्रतिनिधि सभाको पुनर्स्थापनापछि आज दोस्रो बैठक बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको हो । सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।
यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरी नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको थियो। त्यस्तै प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए।
बहिष्कार र अवरोधका कारण सभामुख अग्नि सापकोटाले बैठक मंगलबार फागुन २५ सम्मका लागि स्थगन गरेका थिए भने आजका लागि अर्को बैठक तोकेका थिए।