२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् ।
ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’
उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।
सोही कार्यक्रममा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताए। ओलीले पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा राखेर हिँडेको बताए ।
उनले आफूहरुबारे भ्रम छर्ने प्रयास भएको भन्दै अघि भने, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’