प्रधानमन्त्री ओली आज झापा र मोरङका तीन कार्यक्रममा सहभागी हुने !

 कोरखबर   १८ फागुन, २०७७



१८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली तीनवटा कार्यक्रममा सहभागी हुन मंगलबार झापा र मोरङ आउँदै छन्। ओली बिहान ११ बजे यति एयरलाइन्सको जहाजमार्फत झापाको भद्रपुर विमानस्थलमा ओर्लने कार्यक्रम तय भएको सुरक्षा स्रोतले बतायो।

उनले सुरुमा बिर्तामोड नगरपालिका–७ मा विपन्न ३७ परिवारका लागि निर्माण गरिएको प्रदेश १ गौरव भिलेजको रुपमा नामाकरण गरिएको आवासको उद्घाटन गर्ने छन्। उद्घाटनपछि नगरपालिकाले आवास समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३७ विपन्न परिवारका लागि बिर्तामोड नगरपालिकाको संयोजनमा आवास निर्माण गरिएको हो। नगर प्रमुख धुब्रकुमार शिवकोटीले धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले एक बिघा तीन कट्ठा जग्गा उपलब्ध गराएपछि आवास निर्माण सम्भव भएको जानकारी दिए।

हेविट्याट नेपालको ८३ लाख रुपैयाँ र सहारा नेपालको प्राविधिक सहयोगमा नगरपालिकाले आवास निर्माण गरेको हो। विशेष गरी चौधरी, कुर्मी र सन्थाल समुदायका विपन्न नागरिकका लागि सात दशमलव तीन धुर क्षेत्रफलमा घरहरु तयार गरिएका हुन्। एउटा आवास निर्माणमा चार लाख रुपैयाँ खर्च भएको निर्माण समितिका सचिव अविरल कृष्ण खरेलले जानकारी दिए।

आवास उद्घाटन सकिएपछि ओलीले बिर्तामोडमै बी एण्ड सी अस्पतालले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्ने छन्। क्यान्सरको उपचार गराउन अब विदेश गइरहन नपर्ने बताउँदै अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले तीन सय बेडको स्वीकृति पाएपछि हालसम्म एक सय बेड सञ्चालनमा ल्याइएको जानकारी दिए। 

झापाका दुईवटा कार्यक्रम सकिएपछि ओली मोरङ आइपुग्ने छन्। उनले उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीनजिक लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ। 

उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने

उर्लाबारी–९ मा सन्थाल बस्तीको शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले उर्लाबारी–८ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन्। उर्लाबारी–८ का वडा अध्यक्ष कूलबहादुर कार्कीले कार्यक्रमको सबै तयारी पूरा भइसकेको बताए। उनका अनुसार सन्थाल जातिका लागि ३० करोड रुपैयाँ खर्च गरेर दुई वर्षभित्रमा एकीकृत बस्ती निर्माण गरिसक्ने योजना छ।

झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी भएपछि विराटनगर विमानस्थल हुँदै प्रधानमन्त्री आजै काठमाडौं फर्कने बताइएको छ। ओली विभिन्न कार्यक्रममा सहभागी हुन गत आइतबार पनि झापा आएका थिए। झापाका तीन स्थानीय तहहरु दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा बन्ने नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास ओलीले गरे।

त्यही दिन जिल्लाका विभिन्न विकास आयोजनाको शिलान्यास पनि उनले गरेका छन्। ओलीको एक सातामा तीन दिन झापा पुग्ने कार्यक्रम यसअघि नै तय भएको थियो। आगामी २१ गते पनि उनी झापा आएर सुखानीको कार्यक्रममा सहभागी हुने बताइएको छ।

सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री ओलीको भ्रमण तय भएपछि बिहानैदेखि झापा र मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा व्यवस्था मिलाउन नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानसमेतका चारवटै सुरक्षा अंगलाई परिचालन गरिएको छ। ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का र झापा प्रहरी प्रमुख एसपी सानुराम भट्टराई सुरक्षा व्यवस्था मिलाउन आफैँ फिल्डमा खटिएका छन्। कुनै पनि कमजोरी हुन दिने हिसाबमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए। उनका अनुसार भद्रपुर विमानस्थलदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका स्थान र प्रधानमन्त्री काठमाडौं फर्कने विराटनगर विमानस्थलसम्मको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post